काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमका खेलाडीहरुसँग बिहीबार विभिन्न विषयमा छलफल गरेको छ ।
क्यानको कार्यालयमा भएको छलफलमा कप्तान ज्ञानेन्द्र मल्लसहित करिब ८ जना खेलाडीहरु सहभागी भएका थिए ।
मल्लसहित शारद भेषावकर, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा लगायतका खेलाडीहरु छलफलमा सहभागिता जनाएका थिए ।
छलफलमा क्यानका तर्फबाट कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, जेनेरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र कोषाध्यक्ष रोशन कुमार सिंह सहभागी भएका थिए ।
कार्यवाहक सचिव मल्लका अनुसार खेलाडीहरुसँग आगामी दिनमा खेलाडीहरुलाई राम्रो सुविधा बढाउने, नियुक्त गरिने क्रिकेट प्रशिक्षक के कस्ता हुनुपर्ने साथै कसरी काम गर्ने लगायतका विषयमा छलफल भएको बताए ।
खेलाडीहरुको माग तथा खेलाडीहरुमा रहेको दुविधाहरुको बारेमा समेत छलफल भएको मल्लले जानकारी गराए ।
भविष्यमा कसरी बढ्ने, नेपाली क्रिकेटको विकासका लागि कसरी काम गर्ने विषयमा पनि छलफल भएको थियो ।
तर, कुनै ठोस निर्णय नभएको मल्लले जनाए ।
क्यानले पनि आफ्ना समस्याहरु खेलाडीमाझ राखेको मल्लको भनाई थियो ।
तर, स्पष्टीकरण सोधिएका खेलाडीहरुलाई भने पछि बोलाएर पुन छलफल गर्ने मल्लले बताए ।