काठमाडौं । स्कटल्यान्डका बलर माजिद हकले क्रिकेट स्कटल्यान्ड संस्थागत रुपमा जातिवादी भएको दावी गरेका छन् ।
हक तथा स्कटल्यान्डका पूर्व क्रिकेटर कासिम शेखले खेल जीवनका क्रममा भोगेका दुव्र्यवहारको बारेमा खुलासा गर्ने क्रममा हकले स्कटल्यान्ड क्रिकेट संस्थागत रुपमै जातिवादी रहेको दावी गरे ।
हक तथा शेखले आफूहरुको छालाको रंगका कारण टिमका साथीहरुले फरक व्यवहार गरेको आरोप लगाउदै संगठनभित्र स्वतन्त्र छानविनका लागि माग समेत गरेका छन् ।
यस अघि इंग्ल्यान्डको योर्कशायर क्रिकेट क्लबका पूर्व खेलाडी अजिम रफिकले इंग्लीस क्रिकेट संस्थागत रुपमै जातिवादी रहेको आरोप लगाएपछि पछिल्लो समय क्रिकेटमा हुने विभेदबारे चर्चा चलिरहेको छ ।
हकले स्कटल्यान्डका लागि १३ वर्ष खेल्दै २ सय ९ खेल खेलेका छन् । तर सन् २०१५ को विश्वकपका क्रममा जातीवादी विभेदविरुद्ध ट्वीट गरेपछि उनले खेल्ने अवसर प्राप्त गरेका छैनन ।
हकले आफूलाई अपराधीझै व्यवहार गरिएको आरोप लगाएका थिए ।
हक अहिले पनि स्कटल्यान्डका सर्वाधिक विकेट लिने खेलाडीमा पर्छन ।
यता क्रिकेट स्कटल्यान्डले भने जातिवादी र विभेदबारे छानविन गर्ने जनाएको छ ।