काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन् ।
अन्तराष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीसँग सोमबार भएको अन्तरक्रियामा बोल्दै मन्त्री गहतराजले बजेटमा खेल क्षेत्रलाई उपेक्षा गरीएको बताएका हुन्।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले मन्त्रालयको स्तर उकास्न अपरिहार्य रहेको बताए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई पहिचान गराउने खेलाडी र समग्र खेल क्षेत्रकालागि राज्यले न्युन मात्रामा बजेटको ब्यवस्था गरेको प्रति असन्तुष्टि ब्यक्त गर्दै अथकले बजेटको दायरालाई फराकिलो बनाउनुपर्ने बताए ।
खेलाडीहरुलाई राज्यले उचित ब्यवस्थापन गर्न नसकेको उल्लेख गर्दै मन्त्री गहतराजले भने, 'राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक जित्न सफल हालसम्मका सबै खेलाडीहरुको उचित ब्यवस्थापनकालागि गहन छलफल गरीरहेका छौं ।'
खेलाडीहरुले खेल क्षेत्रमै जीवन देख्ने वातावरण तयार गर्न मनोबल, खेल पुर्वाधारको विकास तथा खेलाडीहरुको ब्यवस्थापनमा राज्य गम्भीर हुनुपर्नेमा मन्त्री गहतराजले जोड दिए ।
विभागिय टिमले नेपालमा खेलाडी उत्पादन तथा संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै मन्त्री गहतराजले प्रशंसा समेत गरे ।
कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मन्त्रालयले सक्षम नेतृत्व पाएकाले खेल क्षेत्रको उल्लेखनिय विकास हुनेमा आफु विश्वस्त रहेको उल्लेख गरे । नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीहरुको ब्यवस्थापनमा विभागिय टिमको भुमिका प्रशंसायोग्य रहेको उल्लेख गर्दै डा. रेग्मीले आगामी दिनमा समेत त्यस प्रकारका गतिविधिहरुलाई निरन्तरता दिन आग्रह गरे ।
५० बढि खेलाडीहरुको सहभागीता रहेको कार्यक्रममा विभागिय टिम (नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाल आर्मि) तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले हालसम्म गरेका खेलकुद गतिविधि र उपलब्धिहरुका बारेमा जानकारी गरेका थिए ।