काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङलाई १ सय ५ रनको चुनौती दिएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ४ रन जोडेको हो ।
नेपालका लागि ओपनर सीता राना मगरले सर्वाधिक ४० रन जोडिन् । ५८ बलको सामना गर्दा सीताले चार चौका प्रहार गरिन् । उनले नवौं ओभरमा रुचिता भेङकटेसलाई लगातार तीन चौका प्रहार गरेकी थिईन् ।
इन्दु बर्माले अविजित ३१ रन जोडिन् । उनले ३६ बल खेल्दा तीन चौका प्रहार गरिन् ।
काजल श्रेष्ठले २४ बल खेल्दै केवल ४ रन जोडिन् । उनी क्यारी चनको बलमा मारिको हिलबाट क्याच आउट भइन् ।
ओपनर कविता कँुवर पहिलो ओभरको दोस्रो बलमै आउट भइन् । बेट्टी चनले कवितालाई मारिको हिलबाट क्याच आउट गराएकी थिइन् ।
नेपालले ६ ओभरमा १४ रन जोड्दा एक विकेट गुमाएको थियो । बोर्डमा २१ रन हुदा नेपालले दुई विकेट गुमाएपनि सीता र इन्दुको जोडीले तेस्रो विकेटका लागि ८३ रनको साझेदारी गरे ।
हङकङका लागि क्यारी चन र बेट्टी चनले समान एक–एक विकेट हात पारे ।