काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हङकङले टस जितेर फिल्डीङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।
नेपाल आज पहिलो खेलमा जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । तर, हङकङविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । हङकङ पनि नेपाललाई स्तब्ध बनाउने योजनामा हुनेछ ।
पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ । त्यसैगरी नेपालको तेस्रो खेल कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ ।