काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो तथा टी-ट्वान्टी अन्तराष्ट्रियमा कतारलाई जितका लागि १ सय ६५ रनको लक्ष्य दिएको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनायो ।
नेपालको लागि सिता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।
सिताले ७२ बलमा ७ चौका प्रहार गरिन् ।
सिताको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।
यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाईन् ।
काजल श्रेष्ठ १२ रनमा आउट भईन् । सरिता मगर १७ रनमा अविजित रहिन् ।
कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १/१ विकेट लिईन् ।
आज नेपाल पहिलो पटक सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ ।
तीन खेलको सिरिज नेपालले यस अघि नै जितिसकेको छ । तर, नेपाल तेस्रो खेल समेत जित्दै सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ ।
नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो ।
यस्तै बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्दै महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको थियो ।
नेपालले आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।