काठमाडौं । कतारविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले सुरुवातमा ब्याटिङ थालेको छ ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो पटक सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ ।
तीन खेलको सिरिज नेपालले यस अघि नै जितिसकेको छ । तर, नेपाल तेस्रो खेल समेत जित्दै सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ ।
नेपालले मंगलबार भएको पहिलो खेलमा कतारलाई १ सय १९ रनले हराएको थियो ।
यस्तै बुधबार भएको दोस्रो खेलमा ६१ रनको जित निकाल्दै महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको थियो ।
नेपालले आफ्नो पहिलो अन्तराष्ट्रिय क्रिकेट सिरिजमै ऐतिहासिक सफलता प्राप्त गरेको हो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी सिरिज खेलिरहेको हो ।
विश्वकप छनोट भने नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छन् ।