काठमाडौं । नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता अन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा स्वर्ण जितेका छन् ।
पाकिस्तानको इस्लामाबादमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।
त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्यो । अभिलाषाको जोडीले ६–० र ६–१ को सेटमा जित निकालेको थियो ।
ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए ।
नेपालबाट आरभ सम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए ।
सर्किट– १ शनिबारसम्म चल्ने छ । त्यसपछि सर्किट– २ का खेल चल्नेछ ।