काठमाडौं । रुस्लान थ्री स्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले ९० मिनेट मेहेनत गर्दा ३ अंक हात पार्न सफल भएको बताएका छन् ।
पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा बिहिबार थ्री स्टारले फ्रेन्ड्सलाई २ - १ ले हराएर विजयी सुरुवात गरेको हो ।
जितपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक केसीले भने, ' फुटबल खेल हो, गल्तीहरु हुन्छ । तर, मेरा खेलाडीले कमजोर टिम भनेर हेलचेक्र्याइँ गरेर खेलेनन् । ९० मिनेट मेहेनत गर्यो । त्यसको नतिजा हामीले ३ अंक जोडेर सुखद सुरुवात गर्यौं ।'
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन रन्जन बिष्ट र बुद्ध राज लिम्बुले एक एक गोल गरेका थिए । फ्रेन्ड्सका विकास लामाले एक गोल फर्काएका थिए ।
तर, प्रशिक्षक केसीले क्लबले लिएको लक्ष्य पुरा गर्न अझै मेहेनत गर्नुपर्ने बताए ।
'क्लबले लिएको टार्गेटमा पुग्न धेरै मेहेनत आवश्यक छ । तर, हामीसंग समय छ । हामी लक्ष्यमा पुग्ने छौं,' प्रशिक्षक केसीले भने ।
यस्तै उनले नयाँ खेलाडी र अनुभव कम भएपनि फ्रेन्ड्सले निकै उत्कृष्ट खेलेको बताए ।
फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले खेलाडीले पहिलो पटक ठुलो प्रतियोगिता खेलेको कारण थ्री स्टारविरुद्ध कठिन भएको बताए ।