एजेन्सी । इङ्लिस क्लब चेल्सीले इडेन हाजार्डलाई क्लबमा फर्काउन छलफल थालेको छ ।
लण्डन क्लबले रियल मड्रिडका बेल्जियन विङ्गरलाई प्रिमियर लिगमा फर्काउन अनौपचारिक छलफललाई अघि बढाएको हो ।
हाजार्डले चेल्सी छाड्दै रियल मड्रिडमा आबद्ध भएका थिए ।
उनी सन् २०१९ मा झण्डै १ सय १५ मिलियन पाउण्डमा स्पेनिस क्लबमा अनुबन्ध भएका थिए । तर हाजार्ड स्पेनमा आफ्नो प्रभाव देखाउन संघर्षरत छन् ।
३० वर्षिय खेलाडीले रियल मड्रिडका ५७ खेल गुमाएका छन् । उनले स्पेनिस क्लबका लागि मात्र ५१ खेल खेलेका छन् । चोटका कारण उनको बर्नवेउ बसाई सुखद बन्न सकेको छैन । उनले चोटकै कारण आधा भन्दा बढी खेल गुमाएका छन् ।
स्पेनिस आउटलेट एल नेश्नलका अनुसार चेल्सीले हाजार्डलाई फर्काउनका लागि अनौपचारिक छलफललाई सुरु गरेको छ ।
चेल्सी मालिक रोमन अब्रामोभिच समेत हाजार्डलाई क्लबमा फर्काउन सहमत छन् । ३० वर्षिय खेलाडी लण्डन आएर पुरानै लयमा फर्कनेमा अब्रामोभिच सहमत भएको जनाईएको छ ।
चेल्सीले रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग हाजार्डलाई फर्काउने विषयमा निरन्तर छलफल गरेको छ । हाजार्ड समेत चेल्सी फर्कने विषयमा तयार हुने अपेक्षा गरिएको छ ।
बेल्जियमका कप्तानबाट रियल मड्रिड समेत छुटकार पाउन चाहेको छ । तर उसका लागि तिरेको १ सय १५ मिलियन पाउण्ड रियलले अपेक्षा गरेको छ । तर लण्डन क्लब हाजार्डका लागि ४० मिलियन पाउण्ड भन्दा धेरै तिर्न तयार देखिदैन ।