काठमाडौं । अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको छनोट अन्तर्गत एसिया 'बी' छनोट स्थगित भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सोमबार एसिया 'बी' को छनोट खेलहरु स्थगित भएको जनाएको छ । कोरोना भाईरसको महामारीको कारण छनोट खेल स्थगित गरिएको हो ।
छनोट खेल मलेसियामा नोभेम्बर ९ देखि १५ सम्म आयोजना हुने बताईएको थियो । तर, कोभिड-१९ को कारण भ्रमण कठिनाइ र क्वारेन्टिनको कडा नियमको कारण छनोट स्थगित गरिएको आईसीसीले जनाएको छ ।
छनोट खेल स्थगित भएपछि यस क्षेत्रबाट हङकङ अर्को चरणमा प्रवेश गरेको छ । छनोट खेल्ने टिममध्ये आईसीसीको वरीयतामा शीर्ष स्थानमा रहेपछि हङकङले अर्को चरणमा प्रवेश पाएको हो । यस छनोटमा हङकङसहित भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्याण्ड रहेको थियो ।
अब हङकङले क्षेत्रीय छनोट खेल्नेछ । यस छनोटमा नेपाल, फिलिपिन्स, सिंगापुर, युएई र जिम्बावेले प्रतिस्पर्धा गर्ने छन् ।