काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटका लागि भारतको टोलीमा कुनै परिवर्तन नहुने बीसीसीआईले जनाएको छ ।
बीसीसीआईका अनुसार खेलाडी घाईते भएको अवस्थामा मात्र टोलीमा परिवर्तन हुनेछ ।
यस अघि कप्तान विराट कोहली र उप-कप्तान रोहित शर्माले राष्ट्रिय टोली छनोटकर्तासँग छलफल गर्न लागेको भन्दै अक्टोबर १० तारिखको डेडलाईन अघि टोलीमा परिवर्तन आउन सक्ने आशंका गरिएको थियो ।
तर, बीसीसीआईले भने खेलाडी घाइते भएको अवस्थामा मात्र टोलीमा परिवर्तन आउने तथा फिजियो टोलीले खेलाडीको अुनगमन गर्ने आफ्नो नियमित काम जारी रहेको जनाएको छ ।
१५ सदस्यीय भारतीय टोलीमा कप्तान विराट कोहली, उप-कप्तान रोहित शर्मा, केएल राहुल, सुर्यकुमार यादव, रिशभ पन्त, इशान किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्रन आश्विन, अक्सर पटेल, बरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद शामी रहेका छन् ।
टी-ट्वान्टी विश्वकप युएई र ओमानमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म संयुक्त रुपमा आयोजना हुँदैछ ।
भारत सुपर १२ को समूह २ मा रहेको छ ।
भारतले पहिलो खेलमा अक्टोबर २४ मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
भारत र पाकिस्तानबीचको खेल दुबईमा हुनेछ ।