काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा अहिले चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा चितवनले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । पोखराले सुरुवातमा ब्याटिङ गर्नेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो ।
यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।