काठमाडौं । नव नियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मन्त्रालयलाई सफल बनाउन एक अर्काको परिपुरकको रुपमा अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री गहतराजले मन्त्रालयलाई युवाको आशा, भरोसको केन्द्रको रुपमा विकास गर्ने चुनौती आफ्नो सामु रहेको बताए ।
‘मन्त्रालयलाई सफल बनाउन एक अर्काको परिपुरकको रुपमा अघि बढ्छौं ।’ मन्त्रालयका कर्मचारीलाई आवश्यक निर्देशन दिदै मन्त्री गहतराजले भने, ‘युवाको आशा, भरोसाको केन्द्रको रुपमा यस मन्त्रालयलाई कसरी विकास गर्ने भन्ने चुनौती छ ।’
मन्त्री गहतराजले देशको शान, मान बढाउने मन्त्रालयको रुपमा युवा तथा खेलकुद मन्त्रालय रहेको उल्लेख गर्दै केही ओझेलमा परेको जस्तो देखिने मन्त्रालयको गरिमा र ओज बढाउने गरि आफुले काम गर्ने उल्लेख गरे ।
‘भाषण र कुरामा हैन, काममा विश्वास गर्छु । टिम र सहकार्यमा विश्वास गर्छु ।’ उनले भने, ‘सबैको आशा र भरोसाको केन्द्रको रुपमा यस मन्त्रालयलाई स्थापित गर्नुपर्छ ।’
मन्त्री गहतराजले प्राप्त जिम्मेवारीमा राम्रो गर्ने उल्लेख गर्दै राम्रो गर्न नसकेको अवस्थामा नराम्रो समेत नगर्ने प्रतिबद्धता जनाए ।
उनले राम्रो काममा आफुले सधै सहयोग गर्ने बताउँदै नराम्रो काममा कुनै हालतमा साथ नदिने उल्लेख गरे ।
माओवादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
बाँके क्षेत्र नम्बर एकबाट संघीय संसदमा निर्वाचित सांसद गहतराज पहिलो पटक मन्त्री बनेका हुन् ।
पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयको रुपमा बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने फाइलमा हस्ताक्षर गरेका छन् । बाँकेको कोहलपुरबाटै नेपालमा महिला क्रिकेटको सुरुवात भएको थियो ।
याे पनि, खेलकुद मन्त्रीको पहिलाे निर्णय : कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने