काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनल खेल आज शनिबार हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल १२:१५ बजे सुरु हुनेछ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो । र, दुबै टिम जित निकाल्दै पहिलो पटक उपाधि उचाल्न चाहन्छ ।
पहिलो पटक उपाधि उचाल्न दुबै टिम तयार रहेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
चितवनका कप्तान सोमपाल फाइनलमा आफ्नो टिमले प्रामाणित गर्नेमा आफु विश्वस्त रहेको बताउछन् ।
'बिगत भनेको बिगत हो । अब फाइनल छ । फाइनल भन्दा पनि मेरो लागि एउटा खेल हो,' फाइनल अघि प्रि म्याच कन्फरेन्समा चितवनका कप्तान सोमपालले भनेका थिए, 'प्रमाणित गर्ने एउटा अवसर छ । खेलाडीको रुपमा आत्मविश्वास छ । मलाई टिम र आफुबाट आत्मविश्वास छ ।'
पहिलो क्वालिफायरमा चितवनले पोखरालाई नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो । तर, दोस्रो क्वालिफायरमा पोखराले भैरहवा ग्लाडियसर्टलाई हराएर फेरि चितवनसँगको भेट पक्का गरेको थियो ।
पोखराका कप्तान विनोदले फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताउँछन् ।
'फाइनल हो, लिगको बारेमा सोचेर बस्न मिल्दैन । फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले जित्ने हो,' कप्तान विनोदले भने, 'फाइनल पुगेको दुबै टिम राम्रो हो । अर्को टिम नराम्रो हाम्रो टिम राम्रो भन्न मिल्दैन । त्यसैले आजको दिनमा जसले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ ।'
कप्तान विनोदले फाइनलमा सबै टिमलाई दबाब हुने समेत बताए ।
'फाइनलमा दबाब हुन्छ । त्यो दबाबमा कसरि लिने भन्ने हुन्छ । तर, सामान्य खेलको रुपमा सोचेर खेल्नु पर्छ,' उनले थपे ।
यसै संस्करणको अघिल्ला दुई भेटमा चितवनले पोखरालाई हराएको थियो । लिग चरण र क्वालिफायर भेटमा चितवनले समान ९ विकेटको जित निकालेको थियो ।
चितवन उक्त जितलाई कायम राख्न चाहन्छ । तर, पोखरा भने फाइनलमा बदला लिन चाहन्छ ।
यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।