काठमाडौं । नव नियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने निर्णय गरेका छन् ।
शुक्रबार मन्त्री नियुक्त भए लगत्तै पदभार ग्रहण गर्दै गहतराजले पहिलो निर्णयको रुपमा महिला क्रिकेटको उर्वर भुमी कोहलपुरमा महिला क्रिकेट एकेडेमी खोल्ने निर्णय गरेका हुन् ।
माओवादी केन्द्रको सिफारिसमा प्रधानमन्त्री शेरबहादुर देउवाले गहतराजलाई खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।
बाँके क्षेत्र नम्बर एकबाट निर्वाचित गतहतराजले महिला क्रिकेटको उत्पत्ती रहेको आफ्नै क्षेत्रमा महिला एकेडेमी खोल्ने ऐतिहासिक निर्णय गरेका हुन् ।
नेपालमा महिला क्रिकेटका ‘पिता’ मानिने राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एलबी क्षेत्रीले कोहलपुरमा महिला क्रिकेट एकेडेमी स्थापनका लागि पहल गर्दै आएका थिए ।
सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद गहतराजले पहिलो निर्णयको रुपमा एकेडेमी स्थापनाको निर्णय गरे ।
महिला क्रिकेटको नेपालमा सुरुवात गरेका पूर्व कप्तान क्षेत्रीले यसलाई ऐतिहासिक निर्णयको रुपमा ब्याख्या गरे । उनले यस निर्णयले नेपालको महिला क्रिकेटमा दुरगामी प्रभाव राख्ने बताए ।
‘यस निर्णयले महिला क्रिकेटको सामाजिक, आर्थिक, खेलकुदको विकासमा लगायतमा दुरगामी प्रभाव राख्ने छ ।’ उनले खेलपाटीसँग कुरा गर्दै भने ।