काठमाडौं । पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा उपाधि नजिक पुगेको हो ।
भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
विपिन रावल ४० रनमा अविजित रहे । रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोडदा लोकेश बम शुन्य रनमा आउट भए ।
भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए ।
त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए ।
पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १/१ विकेट लिए ।
यससँगै पोखरा पहिलो पटक ईपीएलको फाइनलमा पुगेको हो।
अब पोखराले फाइनलमा चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
पहिलो क्वालिफायरमा पोखरा चितवनसँग नै पराजित भएको थियो ।
चितवन पनि पहिलो पटक फाइनल पुगेको हो ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।