काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
जमलको एलो प्यागोडा होटेलमा बिहीबार सकिएको क्यानको बोर्ड बैठकले प्याकुरेल र श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।
गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका थिए ।
प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजना अनुसार राजीनामा दिएको बताएका थिए ।
यस्तै क्यानले केन्द्रीय सदस्य प्रशान्त बिक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ ।
बैठकले क्यानको वार्षिक साधारण सभा डिसेम्बर १५ मा सम्पन्न गर्ने निर्णय समेत गरेको छ।