काठमाडौं । भैरहवा ग्लाडियसर्ट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार भएको एलिमिनेटरमा काठमाडौं किंग्स-११ लाई १६ रनले पराजित गर्दै भैरहवा क्वालिफायरमा प्रवेश गरेको हो ।
अब भैरहवाले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पोखरा पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग पराजित भएको थियो । चितवन फाइनल पुगिसकेको छ ।
भैरहवाले दिएको १ सय ८९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो।
काठमाडौंका लागि असान प्रियन्जनले ६८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।
जनक प्रकाशले २८ रन जोड्दा अमित श्रेष्ठले १९ रन बनाए । दिनेश अधिकारीले १५ तथा राजु रिजाल १० रनमा आउट भए ।
भैरहवाका धम्मिका प्रसाद, कुशल मल्ल र आरिफ शेखले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।
भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदान गरे । यस्तै प्रदिप ऐरीले ३९ रनको योगदान गर्दा उपुल थरंगाले ३५ रन जोडे । कुशल मल्लले ३२ रन बनाए ।
आरिफ शेखले १५ रन जोड्दा तमिम इकबाल ९, रोहित पौडेल १ र धमिका प्रसादले १ रन जोडे ।
काठमाडौंका असान प्रियन्जन र कप्तान सन्दीप लामिछानेले २/२ तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले १/१ विकेट हात पारे ।
भैरहवा र पोखराबीचको दोस्रो क्वालिफायर बिहीबार हुनेछ । यस खेलको विजेता फाइनल पुग्नेछ ।
प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।