काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा काठमाडौं किङ्स-११ ले पोखरा राइनोजलाई जितका लागि १ सय ८३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो ।
काठमाडौंका लागि अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतक बनाए ।
अमितले ४१ बलमा ५६ रन जोड्दा दुई छक्का र ६ चौका प्रहार गरे । बुर्लले ४३ बलमा ५० रनको योगदान गरे । उनले तीन छक्का र दुई चौका हिर्काए ।
कप्तान सन्दीप लामिछानेले ३१ रनको योगदान गरे । ११ बल खेलेका लामिछानेले तीन छक्का र दुई चौका हाने ।
रहमानुल्लाह गुर्बाज १२, अमर रौटेला ७, असान प्रियन्जन ५, सुवास खकुरेल २ रन र राजु रिजाल शुन्य रनमा आउट भए । गुलशन झाले एक रन जोडे ।
पोखराका लागि विवेक यादवले सर्वाधिक तीन विकेट लिए । सहन अर्चाचिगे, बिक्रम सोब, नन्दन यादव र किशोर महतोले एक-एक विकेट लिए ।
तेस्रो स्थानको पोखरा प्ले अफ पुगिसकेको छ । पोखराले ४ खेलमा ५ अंक जोडेको छ ।
काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।