काठमाडौं । युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दर्शकलाई अनुमति दिईने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विश्वकपमा दर्शकलाई अनुमति दिने निर्णय गरेको हो ।
स्टेडियमको क्षमताको ७० प्रतिशत दर्शकलाई अनुमति दिईने आईसीसीले जनाएको छ ।
कोरोना महामारीको कारण भारतबाट सरेको विश्वकप अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुनेछ ।
प्रतियोगिताको पहिलो चरणमा ८ टोलीले सहभागिता जनाउनेछन् ।
जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् ।
यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।
सुपर-१२ को समूह २ मा भारत र पाकिस्तानसँगै न्युजिल्याण्ड, अफगानिस्तान र पहिलो राउण्डको समूह 'बी' विजेता र समूह 'ए' को उपविजेता यस समूहमा रहने छन् ।
यस्तै समूह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका,वेस्ट इन्डिज रहेका छन् । पहिलो राउण्डको समूह 'ए' को विजेता र समूह 'बी' को उपविजेता यस समूहमा रहने छन् ।
अबुधाबीमा हुने पहिलो सेमिफाइनल नोभेम्बर १० र दुबईमा हुने दोस्रो सेमिफाइनल नोभेम्बर ११ मा हुनेछ ।
दुबईमा हुने फाइनल खेल नोभेम्बर १४ मा हुनेछ ।