काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई हराएको छ ।
टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा भैरहवाले चितवनलाई ६ विकेटले हराएको हो ।
चितवनले दिएको १ सय ६५ रनको लक्ष्य भैरहवाले १७ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
भैरहवाको जितमा प्रदिप ऐरीले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा तीन छक्का र ८ चौका प्रहार गरे ।
त्यस्तै तमिम इकबालले ४० रन जोड्दा उपुल थरंगा ३९ रनमा अविजित रहे । रोहित पौडेल ६ र आरिफ शेख १ रनमा आउट भए । कुशल मल्ल एक रनमा अविजित रहे ।
चितवनका लागि करिम जनतले सर्वाधिक दुई विकेट लिदा सागर ढकाल र भिम सार्कीले एक-एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
चितवनको लागि करिम जनतले सर्वाधिक ३५ रनको योगदान गरे भने मोहम्मद सहजादले ३२ रन जोडे । सिकुगे प्रसन्नाले २४ रन हिर्काए । कमल सिंह ऐरी ७ रनमा अविजित रहे ।
भिम सार्की १६, राजेश पुलामी १४, दिलिप नाथ १३, देव खनाल ५ र खडक बोहरा १ रनमा आउट भए ।
भैरहवाका अविनाश बोहराले सर्वाधिक तीन विकेट हात पार्दा कुशल मल्लले दुई तथा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले एक-एक विकेट लिए ।
जारी प्रतियोगितामा चितवनको यो पहिलो पराजय हो । भैरहवाले भने तेस्रो जित हात पारेको हो ।
अघिल्ला चार खेल जितेर ८ अंक जोडेको चितवन अंक तालिकाको शीर्ष स्थानमा यथावत छ ।
चितवन क्वालिफायरमा पुगिसकेको छ ।
तीन जितबाट ६ अंक बटुलेको भैरहवा दोस्रो स्थानमा उक्लिएको छ ।
भैरहवा पनि प्ले अफमा पुगिसकेको छ ।