काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले जित निकालेको छ ।
सारजाहमा शनिबार भएको खेलमा दिल्लीले साविक विजेता मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको हो ।
मुम्बईले दिएको १ सय ३० रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीको जितमा श्रेयस आयरले अविजित ३३ रन बनाए । ऋषव पन्तले २६ रन जोड्दा रविचन्द्र आश्विनले अविजित २० रन बनाए । शिम्रन हिटमायरले १५ रन बनाए ।
मुम्बईका ट्रेन्ट बोल्ट,जयन्त यादव,क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
मुम्बईका लागि सूर्यकुमार यादवले ३३ रन जोड्दा क्विन्टन डी ककले १९ रन बनाए ।
हार्दिक पान्डयले १७, सौरभ तिवारीले १५ तथा कुर्नाल पान्डयले अविजित १३ रन बनाए ।
दिल्लीका आभेस खान र अक्षर पटेलले ३/३ विकेट लिए ।
यस जितसँगै दिल्लीले १२ खेलमा १८ अंक जोडेको छ ।
प्ले अफ पुगिसकेको दिल्ली दोस्रो स्थानमा रहेको छ ।
मुम्बई १० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।