काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाडौं किङ्स-११ बीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र काठमाडौंबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ ।
भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवा अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
विराटनगर पहिलो जित निकाल्न चाहन्छ । करण केसीको कप्तानीमा रहेको विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन ।
विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । पोखरा ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।