काठमाडौं । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित हात पारेको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पोखरा राईनोजलाई ९ विकेटले पराजित गर्दै चितवनले तेस्रो जित निकालेको हो ।
पोखराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा शाहजाद र सार्कीले अविजित १ सय २२ रनको साझेदारी गरे ।
५२ बल खेलेका शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन जोडे । सार्कीले ४२ बलमा ५४ रनको योगदान गरे । भिमले दुई छक्का र ५ चौका प्रहार गरेका थिए ।
ओपनर इशान पाण्डे भने शुन्य रनमा आउट भए । पोखराका बिक्रम सोवले एक विकेट हात पारे ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो ।
पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।
एक समयमा ४२ रन जोड्दा पाँच विकेट गुमाएको पोखराको इनिङ उकास्न विवेक यादव र असेला गुनारत्नेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । गुनारत्नेले २५ रनको योगदान गरे ।
रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शुन्य रनमै पभेलियन फर्किए ।
चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई/दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।
यस जित चितवन ३ खेलमा ६ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
चितवनले प्ले अफमा समेत स्थान सुरक्षित गरेको छ ।
पोखराले ३ खेलमा ३ अंक जोडेको छ । पोखरा चौंथो स्थानमा रहेको छ ।