काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत साविक विजेता ललितपुर प्याट्रीयट्स र भैरहवा ग्लाडीयटर्सबीचको खेल बराबरीमा सकिएको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार ललितपुर र भैरहवाबीचको रोमान्चक खेल 'टाइ' भएको हो ।
ललितपुरले दिएको १ सय ७८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७७ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।
स्कोर बराबर भएपनि खराब प्रकाशको कारण सुपर ओभर भएन र दुबै टोलीलाई एक एक अंक दिईएको हो ।
रोमान्चक खेलमा भैरहवालाई अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक थियो । ललितपुरका राशिद खान बलिङमा थिए ।
तर, उनले अन्तिम ओभरमा १ विकेट लिदै १७ रन खर्चिएपछि ललितपुर जित निकाल्न बन्चित भएको हो । अन्तिम एक बलमा ७ रन चाहिएको बेला भैरहवाका कप्तान शरद भेषवाकरले छक्का प्रहार गर्दै स्कोर बराबरी गरेका थिए ।
भैरहवाका लागि उपुल थरंगाले अविजित रहदै ६७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । शरद ६ रनमा अविजित रहे ।
यस्तै कुशल मल्ल ३५ रन तथा आरिफ शेखले २८ रनमा आउट भए । तमिम इकबालले १४ रन बनाए । प्रदिप ऐरी र रोहित पौडेल समान २/२ रनमा आउट भए ।
ललितपुरका राशिद खानले ३ तथा रिजन ढकालले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।
ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए ।
सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए ।
त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा आउट भए । पवन सर्राफले १ रनमा आउट हुँदा नारायण जोशी सुन्य रनमा अविजित रहे ।
भैरहवाका अविनास बोहराले २ विकेट लिए । धम्मिका प्रसाद,कृष्ण कार्की र आरिफ शेखले १/१ विकेट लिए ।
ललितपुरविरुद्ध एक अंक पाएपछि भैरहवा शीर्ष स्थानमा उक्लिएको छ । भैरहवाले ३ खेलमा ४ अंक जोडेको छ । भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।
ललितपुरले भने पहिलो एक अंक पाएको छ । ललितपुर ३ खेलमा १ अंक जोडेर पाचौं स्थानमा रहेको छ । पहिलो खेलमा काठमाडौं किङ्स-११सँग पराजित ललितपुर दोस्रो खेलमा पोखरा राइनोजसँग पराजित भएको थियो ।