काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बिहीबार दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स-११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र चितवनबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
सोमपाल कामीको कप्तानी रहेको चितवन समेत दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ।
भैरहवा र ललितपुरबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ ।
भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।
ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ । ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन । ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।