काठमाडौं । फुटबल विवादको अनुसन्धान गर्न गठिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानविन समितिले आज (बिहीबार) घटनाका केन्द्रिय पात्र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसंग बयान लिदैछ ।
घटनामा संलग्न अप्रत्यक्ष व्यक्तिसंग बयान सकेको समितिले बिहीबार विवादका मुख्य पात्र नेम्वाङ्ग र अलमुताइरीसंग बयान लिन लागेको हो ।
मुख्य प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । विवादमाथि राखेपको छानविन समितिले अनुसन्धान गरिरहेको छ । युवा तथा खेलकुद मन्त्रालयको निर्देशन अनुसार राखेपले छानविन समिति गठन गरेर घटनाको अनुसन्धान गरिरहेको हाे । एन्फाको कार्यसमिति बैठकले घटनाको छानविन गर्न मन्त्रालय गुहारेको थियाे । वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक सहित दुई पत्रकारले घटनाका छानविन गर्न एन्फामा निवेदन दिएपछि कार्यसमिति बैठकले उच्चस्तरीय अनुसन्धानका लागि भन्दै मन्त्रालयलाई आग्रह गरेको हाे ।
घटनामा आवश्यक कागजात मगाएर समितिले सम्बन्धित पात्रसंग बयानको श्रृङ्खला सुरु गरेको थियो ।
समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहित उपाध्यक्षद्धय वीरबहादुर खड्का, कृष्ण थापा, महासचिव इन्द्रमान तुलाधर सहित अधिकांश अधिकारीसंग बयान लिएर सकेको छ ।
बयानका क्रममा समेत फुटबल संघभित्रको राजनीतिक प्रतिशाेध देखियो ।
सन्तुलित भुमिकामा देखिएका पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षकले अनुशासन बाहिर जादाँ समस्या देखिएको बताएका थिए ।
उपाध्यक्षद्धयले नेतृत्वको असक्षमताका कारण घटना मन्त्रालयसम्म पुगेको बयान दिएका थिए । अध्यक्ष शेर्पाले भने दुवै पक्षको निवेदन अनुसार छानविन गर्न समिति समक्ष आग्रह गरेका थिए ।
बिहीबार उपाध्यक्ष नेम्वाङ्ग सहित मुख्य प्रशिक्षक र दुई पत्रकारलाई समेत बयान लिने सुचिमा राखिएको छ । विवादसंग सम्बन्धित थप दुई व्यक्तिलाई समेत सोधपुछका लागि बोलाईएको छ ।
प्रतिवेदन बुझाउने तयारी
छानविन समितिले बिहीबारनै प्रतिवेदन तयार गर्ने लक्ष्य राखेको छ । वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षकको बयानपछि छानविन प्रतिवेदन लेखनको तयारीमा जुट्ने समितिकी प्रवक्ता एवंम राखेप बोर्ड सदस्य सुवर्ण श्रेष्ठले खेलपाटीलाई बताईन् ।
‘लगभग सबै काम सकिएको छ । बयान चाँडै सकिएको अवस्थामा बिहीबारनै प्रतिवेदन तयार गर्ने लक्ष्य छ । थप बयान लिन नपर्ने अवस्थामा बिहीबारनै प्रतिवेदन बनाउने तयारी छ ।’ उनले भनिन् ।
राखेपले ७ दिनभित्र छानविन समितिलाई प्रतिवेदन तयार गर्न अख्तियारी दिएको थियो ।