काठमाडौं । नेपाल खेलकुद महासंघले मंगलबार केन्द्रिय पदाधिकारीको चौथो बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गर्यो ।
नेकपा एमालेको खेलकुद संगठनका अध्यक्ष रमेश पौडेलले समसामयिक राजनीतिक तथा अन्य विविध भन्दै ९ बुँदे निर्णय सार्वजनिक गरे ।
खेलकुदको राजनीति गर्न स्थापित नेपाल खेलकुद महासंघले सार्वजनिक गरेको ९ बुँदे निर्णयमा मात्र एक बुँदा खेलकुदको पर्यो ।
पहिलो बुँदामा खेलकुदलाई राखेर महासंघले बाँकी ८ बुँदामा एमालेका नेता माधव नेपाललाई अपराध करार गर्दै अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौता राष्ट्रघाति ठहर गरेको छ ।
खेलकुदमा राजनीतिकरण नाङ्गो रुप हेर्दै आएको नेपाली खेलकुदले मंगलबार नेपाल खेलकुद महासंघको ९ बुँदे निर्णय प्राप्त गरेको छ ।
निर्णयको पहिलो बुँदामा जम्बो टोली लिएर ओलम्पिक जाने र राज्यको ढुकुटीको दोहन गरेको ठहर गर्दै ओलम्पिक कमिटी र राखेप थप जिम्मेवार हुनुपर्ने निष्कर्श निकालेको छ ।
सोही बुँदामा ओलम्पिकको अन्तिम समयमा खेलाडीलाई सहभागीताबाट बञ्चित गरिदाँ खेलाडीको मनोबल र भावनामा ठोस पुगेको निष्कर्श निकाल्दै घटनाको खेद प्रकट गरेको छ ।
स्मरण रहोस ओलम्पिकको तयारी गरेका गोपीचन्द्र पार्कीलाई अन्तिम समयमा आएर प्रतियोगिता खेल्न बञ्चित गरिएको थियो । घटनामा नेपाल खेलकुद महासंघ सहित कुनैपनि खेलकुदका राजनीतिक संगठन बिज्ञप्ति निकालेनन् । खेलाडीकै लागि स्थापना भएको संस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले समेत एक बिज्ञप्ति निकालेर निरिहता प्रकट गरेको थियो ।
गोपीचन्द्र पार्की ओलम्पिक किन जान पाएनन् भन्ने विषय अझै खुल्न सकेको छैन । तर घटनाको छानविन गर्न कुनै संघ संस्था र खेल आबद्ध अधिकारीले दबाब सिर्जना गर्न सकेका छैनन् ।
एमालेभित्रको अन्तरसंघर्ष चर्किदै गएपछि अध्यक्ष केपी ओली पक्षले खेलकुद महासंघको गठन गरेको थियो । माधव नेपाल समूहको पुरुषोत्तम पौडेल नेतृत्वको महासंघ क्रियाशिल रहेको अवस्थामा ओली पक्षले समेत खेलकुदमा समानान्तर कमिटी गठन गरेको थियो ।
ओली पक्षको महासंघका युवा संघबाट आएका नेताहरुको बाहुल्यता छ । रमेश पौडेल युवा संघका पूर्व अध्यक्ष हुन् । युवा संघबाट रिटायर्ड भएका पौडेल खेलकुद राजनीतिमा मिसिन आइपुगेका छन् । त्यसैले महासंघको कार्यक्रममा खेलकुद भन्दा राजनीतिक विषय हावी देखिन्छ ।
‘हामी पार्टीका संगठन हौं । राजनीतिक संगठन भएकाले खेलकुदसंगै राजनीतिक विषयले प्राथमिकता पाएको हो ।’ महासंघका अध्यक्ष रमेश पौडेलले कार्यक्रमको समापनमा प्रष्टिकरण दिए ।