काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्य किरण राईले फुटबलको पछिल्लो विवादमा प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीबाट त्रुटि हुन पुगेको बताएका छन् ।
मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्धारा गठिन छानविन समिति समक्ष राईले सामान्य विषयमा प्रशिक्षकले सामाजिक सञ्जालमार्फत वरिष्ठ उपाध्यक्षलाई आक्षेप लगाएर त्रुटि गरेको बताए ।
‘समाचारमा लाइक गरेको आधारमा, एउटा पोस्टमा लाइक गरेको आधारमा आफ्नो संस्थाको वरिष्ठ उपाध्यक्षलाई कार्यालयमार्फत सुल्झाउनुपर्ने विषयमा सार्वजनीक रुपमा फेसबुकमार्फत प्रशिक्षकले जुन आरोप लगाउनुभयो, त्यो अनुशासनको दायराबाट बाहिर गएको देखिन्छ । त्यो हिसाबले प्रशिक्षकबाट क्रुटि भएको लाग्छ ।’ राईले समिति समक्ष भने ।
उनले फुटबल विवाद एन्फामै समाधान गर्नुपर्नेमा ‘ट्रयाक’ भन्दा बाहिर गएको बताए ।
‘घटना एन्फालेनै हल गर्न पर्दथ्यो । एन्फामा अनुशासन कमिटी, अपिल कमिटि थियो । यस्ता घटनाकै लागि विधानमा व्यवस्था गरिएको छ ।’ उनले भने, ‘त्यसैले यो ‘ट्रयाक’ भन्दा बाहिर गयो भन्ने हो ।’
राईले छानविन समिति समक्ष कुनै पक्षमा नलागेर आफ्नो दृष्टिकोण र सत्य कुरा बयानमा बताएको उल्लेख गरे ।
मन्त्रालयको निर्देशन अनुसार राखेपले गठन गरेको छानविन समितिले मंगलबारबाट घटनामा प्रत्यक्ष र अप्रत्यक्ष संलग्नमाथि बयान लिने क्रम सुरु गरेको छ ।
समितिले मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, कार्यसमिति सदस्य किरण राई लगायतसंग बयान लिएको छ । समितिले घटनामा संलग्न १४ जनालाई प्रारम्भिक रुपमा बयान लिने जनाएको छ ।
वरिष्ठ उपाध्यक्षलाई कारण देखाउदै मुख्य प्रशिक्षकले राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा छ । घटनाको छानविन गर्न मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षले एन्फामा निवेदन दिएका थिए ।
दुवै निवेदनमा छलफल गर्दै एन्फाले छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएको थियो ।
मन्त्रालयले घटनाको छानविन गर्न राखेपलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समितिलाई ७ दिनभित्र छानविन गरि सुझाव सहितको प्रतिवेदन बुझाउन अख्तियारी छ ।