काठमाडौं । फुटबल विवाद छानविनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानविन समितिले मंगलबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा सहितका पदाधिकारीसंग बयान लिदै छ ।
फुटबल विवाद छानविनका लागि गठिन समितिले एन्फा अध्यक्ष शेर्पा सहित मंगलबार ४ जनासंग बयान लिने तयारी गरेको हो ।
समितिको बिहान ११ बस्ने बैठकले अध्यक्ष शेर्पा सहित पदाधिकारीमाथि बयानको काम थाल्ने समितिका एक सदस्यले खेलपाटीलाई बताए ।
एन्फाका वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरी तथा दुई खेल पत्रकारले दिएको उजुरीका आधारित रहेर समितिले घटनामा संलग्नसंग बयानको लिने निर्णय गरेको हो ।
समितिले घटनामा संलग्न प्रत्यक्ष तथा अप्रत्यक्ष गरि १४ जनासंग बयान लिने सुचि तयार गरेको छ । सुचिमा अध्यक्ष शेर्पा सहित घटनामा प्रत्यक्ष संलग्न वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक रहेका छन् ।
आवश्यक परेको अवस्थामा थप व्यक्तिलाई समेत बयानका लागि बोलाउने समितिको तयारी छ ।
वरिष्ठ उपाध्यक्षलाई कारण देखाउदै मुख्य प्रशिक्षकले राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा छ । घटनाको छानविन गर्न मुख्य प्रशिक्षक र वरिष्ठ उपाध्यक्षले एन्फामा निवेदन दिएका थिए ।
दुवै निवेदनमा छलफल गर्दै एन्फाले छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयमा निवेदन दिएको थियो ।
मन्त्रालयले घटनाको छानविन गर्न राखेपलाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो ।
समितिलाई ७ दिनभित्र छानविन गरि सुझाव सहितको प्रतिवेदन बुझाउन अख्तियारी छ ।