काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबल विवाद समाधानका लागि गठन गरेको छानविन समितिले एन्फासंग आवश्यक कागजात माग गर्ने भएको छ ।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले गठन गरेको समितिको बिहीबार बसेको पहिलो बैठकले छानविनका लागि एन्फासंग आवश्यक कागजात माग्ने निर्णय गरेको हो ।
'छानविनका लागि फुटबल संघले गरेको निर्णय सहित संघको विधान, आचार संघीता, प्रशिक्षकसंगको सम्झौता लगायतका आवश्यक कागजात एन्फासंग माग्ने निर्णय भएको छ।' समितिका एक सदस्यले खेलपाटीसंग भने ।
बैठकको सुरुवातमा राखेपले गठन गरेको समितिको वैधानिकताको विषयमा प्रश्न उठेको थियो ।
राखेपको कानुन शाखाका प्रमुख नारायण अर्यालले कार्यवहाक सदस्य सचिवले दैनिक प्रशासन बाहेक नीतिगत र आर्थिक अधिकारको विषयमा निर्णय गर्न नमिल्ने भएकाले समिति गठन वैधानिक नभएको बताएका थिए ।
समितिमा बोर्ड सदस्य रेणुका श्रेष्ठ र चन्द्रबदना राईले मन्त्रालयले ठुलो जिम्मेवारी राखेपलाई सुम्पिएको उल्लेख गर्दै दिएको जिम्मेवारीबाट पछि हट्न नमिल्ने बताएका थिए ।
समिति संयोजक पुरेन्द्र बिक्रम लाखेले राखेपको कार्यकारी समितिको बैठकबाट छानविन समिति गठन भएको बताउँदै काम अघि बढाउनुपर्ने बताएका थिए ।
बैठकले छानविन प्रक्रियालाई अघि बढाउने निष्कर्श सहित आवश्यक कागजात एन्फासंग माग्ने निर्णय गरेको छ ।
राखेपले समितिलाई ७ दिनभित्र छानविन प्रतिवेदन तयार गरेर सुझाव सहितको प्रतिवेदन दिन अख्तियारी दिएको छ ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले वरिष्ठ उपाध्यक्षमाथि आक्षेप लगाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा छ ।
प्रशिक्षकको आरोपमाथि छानविनको माग गर्दै वरिष्ठ उपाध्यक्षले एन्फामा निवेदन दिएका थिए । अलमुताइरीले समेत वरिष्ठ उपाध्यक्ष र दुई खेलपत्रकार माथि छानविनको माग गर्दै एन्फामा राजीनामा दिए ।
छानविनमा दुई खेल पत्रकारमाथि प्रशिक्षक अलमुताइरीले गरेको दुव्र्यवहारको निवेदन समेत समावेश छ ।
एन्फाको आपतकालिन बैठकले वरिष्ठ उपाध्यक्ष, प्रशिक्षक र दुई खेलपत्रकारको निवेदनमाथि छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो ।
एन्फाको आग्रह अनुसार मन्त्रालयले राखेपलाई छानविन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।