काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपाध्यक्ष कृष्ण थापा र कार्यसमिति सदस्य बसन्त अर्यालले आफ्नो जिम्मेवारी र पदबाट दिएको राजीनामालाई स्विकृत गरेको छ ।
एन्फाले उपाध्यक्ष थापाले प्राविधिक समितिको संयोजकको जिम्मेवारीबाट र अर्यालले कार्यसमिति सदस्य पदबाट दिएको राजीनामा स्विकृत गरेको हो ।
उपाध्यक्ष थापाले आफुसंग कुनै सल्लाह नगरी एन्फाको सचिवालयले मनोमानी तरिकाले निर्णय गरेको आरोप लगाउदै पदबाट राजीनामा दिएका थिए ।
थापाले आफुसंग सल्लाह नगरी राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकको करार थप्ने, एकेडेमीका लागि यू–१३ खेलाडीको अन्तिम नाम प्रकाशित गर्ने, बी लाईसेन्स कोर्स आयोजना गर्ने, राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षक नियुक्त गरेको आरोप लगाउदै प्राविधिक समितिबाट राजीनामा दिएका थिए ।
अर्यालले गत वर्ष काठमाडौंमा सम्पन्न साधारण सभाले विधान संशोधन गर्दै मनोनित पदहरु खारेज गरेकाले पदमा रहन विधानत नैतिक संकट परेकाले पदबाट राजीनामा दिएका थिए । अर्यालले समेत एन्फा विवादको छानविन गर्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय र मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको अभिव्यक्तिलाई लिएर असन्तुष्टि जनाएका थिए ।
एन्फाले पोखरामा बस्दै आएका उपाध्यक्ष थापालाई प्राविधिक समिति संयोजक बनाएको थियो । पछिल्लो समय एन्फा नेतृत्वसंग दुरी बढ्दै गएपछि उनले जिम्मेवारीबाट राजीनामा दिने निर्णय गरेका थिए ।
कर्माछिरिङ शेर्पा नेतृत्वको प्यानलबाट कार्यसमितिमा निर्वाचित भएका थापालाई प्राविधिक समितिको जिम्मेवारी दिईएको थियो ।
अर्याललाई भने मनोनित सहायक महासचिवको रुपमा एन्फामा मनोनित गरिएको थियो । एन्फाको पछिल्लो साधारण सभाले मनोनित व्यवस्था खारेज गर्दै अधिकांश पदाधिकारी निर्वाचनबाटै आउने व्यवस्था गरेको छ ।