एजेन्सी । यस वर्ष हुने रग्बी लिग विश्वकप सन् २०२२ सम्मका लागि स्थगित भएको छ ।
पूर्व च्याम्पियन अष्ट्रेलिया र न्युजिल्याण्डले प्रतियोगिताबाट हात झिकेपछि इङ्ल्याण्डमा यस वर्ष हुने प्रतियोगिता स्थगित गरिएको हो ।
दुई राष्ट्रले खेलाडीको स्वास्थ्य सुरक्षाको कारण देखाउँदै प्रतियोगिता नखेल्ने बताएका थिए । दुवै देशको चिन्ता कोभिड–१९ लाई लिएर थियो ।
विश्वकपमा महिला तथा पुरुषका साथै ह्विल चेयर समेत समावेश थियो । प्रतियोगिता इङ्ल्याण्डको न्युक्यासलमा अक्टोबर २३ बाट सुरु हुने तय थियो ।
‘हाम्रो लागि यसलाई जारी राख्न असम्भव र गैर जिम्मेवार जस्तो भएको छ ।’ प्रतियोगिताका मुख्य कार्यकारी अधिकारी जोन डटनले भनेका छन् ।
‘मलाई लाग्छ, अन्तराष्ट्रिय रुग्बी लिगलाई सामान्य अवस्थामा फर्कन केही समय लाग्छ । हामीलाई लाग्छ, हामी प्रकाशको किरण बन्न सक्छौं ।’ उनले भनेका छन् ।
‘निश्चित रुपमा हामीले खेलाडीको आवाज र खेलाडीको चासोलाई प्राथमिकता दिएका छौं । हामीलाई थाहा छ, खेलाडी खेल्न चाहन्छन् । हामीले हाम्रो जिम्मेवारी गम्भिरताका साथ लिएका छौं । हामी सबैभन्दा ठुलो र सर्वश्रेष्ठ रग्बी लिग विश्वकप आयोजनाका लागि दृढ छौं ।’ उनले थपे ।
प्रतियोगिता अक्टोबर २३ देखि नोेभेम्बर २७ सम्म तोकिएको थियो । दुई राष्ट्र बिनै आयोजकले प्रतियोगितालाई अघि बढाउने बताएको थियो । तर सहभागी १६ एनआरएल क्लबले प्रतियोगिता बहिष्कारको समर्थन गरेपछि आयोजकले हार स्विकारर्न बाध्य भएको हो ।