काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले फुटबल विवाद छानविनका लागि गठन गरेको समितिका संयोजक पुरेन्द्रबिक्रम लाखे कोभिड संक्रमित भएर आइसोलेसनमा रहेका छन् ।
राखेपले एन्फा विवादको छानविनका लागि मंगलबार लाखे नेतृत्वमा ७ सदस्यीय कमिट गठन गरेको थियो । छानविन समितिका संयोजक लाखे कोभिडबाट संक्रमित भएर आइसोलेसनमा रहेका छन् । बुधबार उनी कोभिडबाट संक्रमित भएको ५ दिन पुगेको छ ।
संयोजकनै कोभिड भएर आइसोलेसमा रहेपछि फुटबल विवाद छानविनका लागि गठित समितिको काम प्रभावित हुने देखिएको छ ।
मंगलबार राखेपको कार्यकारी समितिको बैठकले लाखेको संयोजकत्वमा बोर्ड सदस्यहरु रेनुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई तथा राखेपबाट नारायण अर्याल, अर्जुन विक र सरोज पोखरेल सम्मिलित छानविन समिति गठन गरेको थियो ।
संयोजक लाखेले आफु कोभिडबाट संक्रमित भएर आईसोलेसनमा रहेको र बिहीबारबाट बाहिर निस्कने बताए । ‘बुधबार ५ दिन पुरा भएको छ । बिहीबारबाट बाहिर निस्कन्छु । छानविनको काम अघि बढ्छ ।’ लाखेले खेलपाटीसंग भने ।
राखेपले ७ दिनको समयसिमा दिएर छानविन प्रतिवेदन तयार गर्न समितिलाई निर्देशन दिएको थियो ।
संयोजक लाखेले थप कानुनी परामर्शपछि मात्र छानविनको काम अघि बढाउने बताए ।
‘म आफैले ६ पटक कार्यकारी भएर राखेप सदस्य सचिवको जिम्मेवारी लिएको छु । कार्यवहाकलाई आर्थिक र नीतिगत निर्णय लिने अधिकार हुदैन ।’ उनले भने, ‘सदस्य सचिव नभएको अवस्थामा कार्यकारीले दिएको जिम्मेवारीको वैधानिकता बुझेर छानविन अघि बढाउनेछु ।’
उनले बिहीबार कोभिडको परिक्षण गरेर छानविनको काममा सक्रिय बन्ने बताए ।
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले वरिष्ठ उपाध्यक्षमाथि आक्षेप लगाउँदै पदबाट राजीनामा दिने घोषणा गरेपछि एन्फा विवाद उत्कर्षमा छ । प्रशिक्षकको आरोपमाथि छानविनको माग गर्दै वरिष्ठ उपाध्यक्षले एन्फामा निवेदन दिएका थिए । अलमुताइरीले समेत वरिष्ठ उपाध्यक्ष र दुई खेलपत्रकार माथि छानविनको माग गर्दै एन्फामा राजीनामा दिए ।
एन्फाको आपतकालिन बैठकले वरिष्ठ उपाध्यक्ष, प्रशिक्षक र दुई खेलपत्रकारको निवेदनमाथि छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । एन्फाको आग्रह अनुसार मन्त्रालयले राखेपलाई छानविन गरि सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य लाखे नेतृत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो ।