काठमाडौं । आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गरेका छन् ।
तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह साउद र सम्झना थापा रहेका छन् । प्रशिक्षकमा राजीव प्रधान छन् ।
अन्तर्राष्ट्रिय जुडो महासंघ (आईजेएफ), ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पको संयुक्त आयोजनामा हुन लागेको तालिम अगष्ट १ देखि ७ तारिखसम्म हुनेछ ।
टोलीको हवाइ टिकट÷खान÷बसोबास ओलम्पिक सोलिडारिटी र सेर्गइ जुडो क्याम्पले व्यवस्था गर्ने तथा स्थानिय खर्च आईजेएफले व्यहोर्ने नेपाल जुडो संघले जनाएको छ ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव एकेन्द्र कुँवरले शुक्रबार बिदाइ गरेका थिए । निमित्त सदस्य–सचिव कुँवरले नेपाली टोलीलाई स्विट्जरल्यान्डमा सहजीकरणका लागि त्यहाँको एनआरएनसंग सम्पर्क गरिदिने प्रतिबद्धता जनाउदै तालिमबाट हासिल गरेको ज्ञानलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए ।
नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्रचार्यले तालिममा नेपालले लगातार तेश्रोपटक सहभागिता जनाउन लागेको बताउदै ख्याती प्राप्त जुडो प्रशिक्षकले सहभागीलाई तालिम दिने जानकारी गराए ।
दुवै खेलाडीलाई यु–१८ उमेरसमूह अन्तर्गत राजविराजमा भएको लोकेन्द्रबहादुर श्रेष्ठ स्मृति राष्ट्रव्यापी जुडो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा छनोट गरिएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।