काठमाडौं । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता माघको तेस्रो साता आयोजना गरिने भएको छ । तयारी अभावको कारण देखाउदै निर्धारित समयभन्दा दुई महिना अगाडी प्रतियोगिताको नयाँ मिति घोषणा गर्ने तयारी गरिएको हो ।
नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले प्रतियोगिताको नयाँ मितिमा निर्णय गरेको छ । प्रतियोगिता माघ २५ देखि फागुन ३ गतेसम्म मध्यपश्चिमाञ्चलमा आयोजना हुनेछ । ‘निर्माण कार्यलाई पुरा गराउन समय अभाव देखिएकाले प्रतियोगिता सारिएको हो ।’ बैठक स्रोतले भन्यो ।
समयमै बजेट उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषदले पहल नगर्दा तयारीले गति लिन नसकेको आयोजक मध्यपश्चिम खेलकुद विकास समितिले आरोप लगाउदै आएको थियो । पुर्वाधार निर्माणको ढिला सुस्तीले समयमै प्रतियोगिता आयोजना हुनेमा सरोकारवालाले आशंका व्यक्त गर्दै आएका थिए ।
यसअघि मध्यपश्चिमको शहर नेपालगञ्जमा हुने भनिएको आठौ राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गते गर्ने निर्णय गरिएको थियो । यस्तै, बैठकले तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको तयारीलाई तिव्र गतिमा अघि बढाउने निर्णय गरेको छ ।
काठमाडौंको रंगशालामा निर्माणको काम सन्तोषजनक देखिएपनि पोखरा रंगशालाको टेन्डर प्रक्रियाले तयारीमा ढिलाई भएको बैठकले निष्कर्श निकालेको छ ।