काठमाडौं । मध्यपश्चिममा हुने तय भएको आठौ राष्ट्रिय खेलकु्द प्रतियोगिताको नयाँ मिति तोकिएको छ । तयारी अभावको कारण देखाउदै राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले आठौ राष्ट्रिय खेलकुदको निर्धारित मिति स्थगित गरेको हो ।
बैठक स्रोतका अनुसार प्रतियोगिता अब माघ २५ गतेदेखि फागुन ३ सम्म हुनेछ । ‘निर्माण कार्यलाई पुरा गराउन समय अभाव देखिएकाले प्रतियोगिता सारिएको हो ।’ बैठक स्रोतले भन्यो ।
यसअघि नेपालगञ्जमा हुने भनिएको राष्ट्रिय खेलकुद मंसिर २१ देखि २८ गतेकालागि निर्धारण गरिएको थियो ।
पुर्वाधार निर्माणको ढिला सुस्तीले समयमै प्रतियोगिता आयोजनामा सरोकारवालाले आशंका व्यक्त गर्दै आएका थिए । आयोजक मध्यपश्चिम खेलकुद विकास समितिले समयमै बजेटको व्यवस्था नहुदाँ पुर्वाधार निर्माणले गति लिन नसकेको बताउदै आएको थियो ।
यस्तै, बैठकले तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको तयारीलाई तिव्र गतिमा अघि बढाउने तयारी गरेको छ । काठमाडौंका रंगशालामा निर्माणको काम सन्तोषजनक देखिएपनि पोखरा रंगशालाको टेन्डर प्रक्रियाले तयारी ढिलाई देखिएको बैठकले निष्कर्श निकालेको छ ।