काठमाडौं । अमेरिकामा आयोजना भएको शारीरिक सुगठन प्रतियोगितामा नेपाली मूलका उत्सव सिंहले दुई स्वर्ण पदक प्राप्त गरेका छन् ।
सिंह टेक्ससमा भईरहेको प्रतियोगितामा स्वर्ण पदक हात पार्ने पहिलो नेपाली मूलका खेलाडी हुन् ।
सिंह विभिन्न चरणमा दुई स्वर्ण जित्दै फाइनलमा समेत प्रवेश गरेका छन् ।
फाइनलका लागि भने भोटिङ शुरु गरिएको छ । प्राप्त भोटको आधारमा उत्कृष्ट छनौट गर्ने तयारीका साथ सबै प्रतियोगीहरुको लागि भोटिङ खुल्ला गरिएको छ । सिंहलाई भोट गर्नको लागि फिचरेडडटमस्कलएण्डफिटनेसडकम मा गएर भोट गर्न सकिनेछ ।
अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका उत्सव सिंह अमेरिकी पत्रिकाको आयोजना रहेको कार्यक्रममा सहभागी भएका थिए । उनले मिस्टर युएसए २०२१ नेचुरल प्रो क्वालीफाईएर कम्पिटिसन् (प्राकृतिक प्रो योग्यता प्रतियोगिता)मा दुई वटा स्वर्ण पदक प्राप्त गरेका हुन् ।
सिंहले पुरुषको फिजीक क्याटोगोरी र नोभिस क्याटोगोरी (शारीरिक वर्ग र नवदीक्षित वर्ग) मा स्वर्ण जितेका हुन् । यससंगै उनी व्यवसायिक खेलाडीको रुपमा योग्य भएका छन् ।
टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्खौली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा पनि स्वर्ण पदक प्राप्त गरेका थिए ।
सिंह नेपालमा छँदा ७० केजी तौल समूहमा मिस्टर भक्तपुरमा तेश्रो स्थान प्राप्त गरेका थिए । नेपालमा शारीरिक सुगठनको अन्य खेल खेलेका छन् ।भक्तपुरमा भएको अर्को प्रतिस्पर्धामा मिस्टर बडी बिल्डिंग अफ द ईयरमा दोश्रो र भैरहवामा भएको मिस्टर नेपालमा सहभागी हुँदा आफ्नो तौल समुहमा तेश्रो स्थान समेत भएका थिए । यसै गरि बुटवल श्री प्रतियोगितामा आफ्नो तौल समूह प्रतियोगितामा तेश्रो स्थान हासिल गरेका थिए ।