एजेन्सी । जापानको राजधानी टोकियोमा आपतकालिन घोषणाको तयारी गरिएको छ ।
ओलम्पिक हुनु भन्दा केही दिन अघि जापानले प्रतियोगिता हुने शहर टोकियोमा आपतकालिन घोषणाको तयारी गरेको हो ।
आपतकालिन घोषणाको तयारीसंगै ओलम्पिकको दौरान दर्शकलाई मैदान प्रवेश जाने अनुमती दिने सम्भावना कम छ । टोकियोमा पछिल्लो केही दिनयता लगातार बढेको कोरोना संक्रमणका कारण आपतकालिन घोषणाको योजना बनेको हो ।
बिहिबार बिहान बिज्ञहरुसंगको छलफलपछि सरकारी अधिकारीले टोकियोमा आपतकालिन घोषणाको प्रस्ताव गरेका छन् । राजधानीमा हुने आपतकाल अर्को सोमबारदेखि अगष्ट २२ सम्म हुने प्रस्ताव छ ।
कोरोना महामारीकाबीच ओलम्पिक प्रतियोगिता जुलाई २३ देखि अगष्ट ८ सम्म हुने तय भईसकेको छ ।
प्रतियोगितामा विदेशी दर्शकलाई सुरुमै प्रतिबन्ध गरिएको थियो । पछिल्लो निर्णयसंगै स्थानीय दर्शक समेत प्रतियोगिता हेर्नबाट बञ्चित हुने देखिएको छ । स्थानीय आयोजकले अन्तराष्ट्रिय ओलम्पिक कमिटी र अन्य सरोकारवाला निकायसंग छलफल गरेर दर्शक प्रवेशको विषयमा औपचारिक निर्णय गर्नेछन् ।
कोभिडका कारण ओलम्पिक प्रभावित बन्दै आएको छ । गत वर्षनै हुनुपर्ने प्रतियोगिता कोभिडकै कारण यस वर्ष हुन लागेको हो ।
मेडिकल विशेषज्ञले केही साता अघि दर्शक विहिन खेल प्रतियोगिता सबैभन्दा कम जोखिम हुने विकल्प हुने सुझाव दिएका थिए । हजारौं खेलाडी तथा अधिकारीको आगमनसंगै कोभिडको संक्रमण बढ्ने आँकलन गरिएको छ ।