काठमाडौं । नेपाल भ्रमणका रहेका एसियाली फुटबल महासंघका अध्यक्ष सलमान विन अब्राहिमले अखिल नेपाल फुटबल संघका पदाधिकारीसंग भेट गरेका छन् ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज बिहान एएफसीका प्रमुखले पहिलो पटक एन्फाको निर्वाचित कार्य समिति सदस्यसंग भेट गरेका हुन् । ‘गुडविल’ भिजिटका रुपमा नेपाल आएका एएफसी प्रमुख अब्राहिमले निर्वाचित कमिटिसंग फुटबल विकासमा सहकार्य गर्न आफु ईच्छुक रहेको बताएका थिए ।
‘नेपाली फुटबलको विकासलागि सबै सहयोग गर्न एएफसी तयार छ ।’ सलमानको भनाई उद्धित गर्दै एन्फा प्रवक्ता किरण राईले भने । एएफसीको आगामी साधारण सभाले नेपाल लगायत दक्षिण एसियाली मुलुककालागि राम्रो कार्यक्रम लिएर आउने बताउदै अध्यक्ष सलमानले एन्फाको नयाँ कमिटिलाई साथ र समर्थन रहने बताए ।
भेटमा अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ निर्वाचित कमिटिले आफ्नो कार्यकालको योजना र लक्ष्यहरु एएफसी अध्यक्षसामु प्रस्तुत गरेको थियो । एएफसी अध्यक्ष सलमानले एन्फाका सबै योजनामा आफुले पुरा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
एएफसीको नयाँ नेतृत्वकालागि आगामी बर्ष २०१९ मा निर्वाचन हुदैछ । बहराईन फुटबल संघका अध्यक्ष समेत रहेका सलमानको नेपाल भ्रमणलाई सोही निर्वाचनका लागि सद्भाव बटुल्ने कार्यक्रमको रुपमा हेरिएको छ ।