पोखरा । विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको स्पोर्टस् अवार्ड २०७६–७७ अवार्ड वितरण समारोह सम्पन्न भएको छ ।
पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी करातेका नवीन रसाइली घोषित भएका छन् ।
महिलातर्फ तेक्वान्दोकी पार्वती गुरुङ वर्ष उत्कृष्ट खेलाडी घोषित भईन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् ।
यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिएका छन् ।
उदीयमान खेलाडी पौडीकी १४ वर्षीया डुवाना लामा घोषित भएकी छन् । वर्ष उत्कृष्ट प्रशिक्षक बक्सिङका सुरेश मल्ल ठकुरी घोषित भए । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरिएको छ ।
मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ र पोखरा स्पोर्टस् डटकमका केशव पाठक सम्मानित भए । उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।
वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेतालाई प्रदेशका बिना विभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला, मीना गुरुङ, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पगेनी, त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्च महासचिव विजय नेपालले मञ्चको गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रम एबिसी टेलिभिजन, पोखरा टेलिभिजन, युट्युवबाट लाइभ गरिएको थियो ।