बुटवल । विश्व खेलकुद पत्रकारिता दिवसको अवसरमा रुपन्देहीका खेलकुद पत्रकारहरुले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरि मनाएका छन् ।
जुलाई २ को दिन विश्वभर खेलकुद पत्रकारिता दिवस मनाउने गरिन्छ । जस अन्तर्गत रुपन्देहीमा पनि शुभकामना आदानप्रदान गर्दै दिवस मनाईएको हो ।
दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मन्च ( रुपन्देही) का अध्यक्ष सुमन अधिकारीले खेलकुद विधामा कलम चलाउने पत्रकारहरुलाई एकताबद्ध गर्दै संस्थागत रुपमा अगाडी बढाएको बताए ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले कम समयमा बुटवल नगरपालिकामा खेलमैदान तथा खेल पूर्वाधार तर्फ निकै राम्रो काम भएको तर कोरोना महामारी कारण ठुलो प्रतियोगिता हुन नसकेको बताए ।
नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसीले खेलकुदसँग आवद्ध संस्थाहरुसंग समन्वय गरि तालिम र क्षमता विकासमा लाग्न सुझाव दिए ।
उनले लुम्बिनी प्रदेश सरकारबाट खेलकुदमा सम्भावना बोकेको रुपन्देहीमा लगानीमा कन्जुस्याइँ गरेको दुखेसो गरे ।
नेपाल पत्रकार महासंघ केन्द्रका सदस्य भवानी प्रसाद पाण्डेले विश्व खेलकुदको आयोजना पर्वका रुपमा रहेको बताए र नगरमा खेलकुद प्रतियोगिताको आवश्यकता रहेको बताए ।