पोखरा । कोरोना महामारीका कारण स्थगित पाँचौं पोखरा स्पोर्ट्स अवार्ड भर्चुअल मार्फत हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको २५ औं कार्यसमिति बैठकले असार १८ गते भर्चुअल मार्फत अवार्ड वितरण गर्ने निर्णय गरेको हो । 'विश्व खेलकुद पत्रकार दिवस' को दिन पारेर अवार्ड वितरण गर्न लागेको मञ्चले जनाएको छ ।
पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल मार्फत अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
यसअघि वैशाख २० गते अवार्ड कार्यक्रम आयोजना गर्ने बताईएको थियो । तर, कोरोना महामारीसँगै निषेधाज्ञा लागु भएपछि अवार्ड कार्यक्रम रोकिएको थियो ।
मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड वितरण गर्ने महासचिव विजय नेपालले बताए ।
तीमध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकको उत्कृष्ट ३ मनोनयन सूची सार्वजनिक भईसकेको छ ।
रञ्जितलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
स्पोर्ट्स अवार्ड अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड केशव रञ्जित (आनन्द) लाई प्रदान गरिने भएको छ ।
पोखरा–३ नदीपुर निवासी ६८ वर्षीय रञ्जितको पोखराको फुटबल विकासमा अतुलनीय योगदान छ । अवार्ड वापत उनलाई अवार्डसहित ४० हजार बराबरको चाँदीको करुवा, ताम्रपत्र प्रदान गरिनेछ ।
प्रतिभा छनोटका लागि गठित समितिले उनको नाम सिफारिस गरेकोमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बसेको कार्यसमितिको २५ औं बैठकले नाम अनुमोदन गरेको हो ।