काठमाडौं । जुडोकी सोनिया भट्टले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छिन् ।
नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्यले सोनियाले ओलम्पिक खेल्ने पक्का भएको जानकारी दिए ।
सोनिया वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएको अध्यक्ष बज्राचार्यले बताए ।
सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।
उनी विश्व जुडो च्याम्पियनसिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी हुन् ।
सन् २०१९ मा मोरक्कोमा भएको च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौलसमूहमा मोजाम्बिकी खेलाडी मुनिमी जेनीलाई बाजारी आवासोती इप्पोनको आधारमा पराजित गरेर इतिहास बनाएकी थिइन् ।
सोनिया टोकियो ओलम्पिकका लागि छनोट हुने पाँचौं नेपाली खेलाडी हुन् । यस अघि सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोचीचन्द्र पार्कीले खेल्ने पक्का भईसकेको छ ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।
विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ ।
औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ । कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।