काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।
सर्वोच्च अदालतबाट मन्त्रीपरिषद् विस्तारमा अन्तरिम आदेश आएपछि प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
अदालतको निर्णयसंगै २० जना मन्त्रीको पद धरापमा परेको थियो । अहिले प्रधानमन्त्री सहित ५ जनामात्र मन्त्रालयको जिम्मेवारीमा छन् ।
प्रधानमन्त्रीले बिहिबार गरेको जिम्मेवारी हेरफेरमा क्याबिनेटमा रहेका मन्त्रीलाई ५ वटा मन्त्रालय सम्मको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिएका छन् । अर्को व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्रीले श्रेष्ठलाई युवा तथा खेलकुद सहित ५ मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
श्रेष्ठले खेलकुदसंगै वन तथा वातावरण, शिक्षा, बिज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री आफैले रक्षा तथा परराष्ट्र मन्त्रालय राखेका छन् ।
सर्वोच्चको पछिल्लो निर्णयसंगै एकवाल खाँ खेलकुद मन्त्रीको जिम्मेवारी मुक्त भएका थिए । त्यसअघि तत्कालिन नेकपा विभाजनको क्रममा दावा तामा खेलकुद मन्त्रीको जिम्मेवारीमा आएका थिए । उनले तत्कालिन खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई प्रतिस्थापन गरेका थिए ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी चार जनाले प्राप्त गरिसकेका छन् ।