काठमाडौं । नेपाल खेलकुद महासंघले खेल क्षेत्रको लागि कोभिड-१९ को खोप उपलब्ध गराउन माग गरेको छ ।
महासंघले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई एक पत्र लेख्दै खोप उपलब्ध गराउन माग गरेको हो ।
आजीवन राष्ट्रिय झण्डालाई प्राथमिकतामा राखेर हिड्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरुको जीवन रक्षाको लागि खोप उपलब्ध गराउन महासंघले माग गरेको हो ।
महासंघले काठमाडौं उपत्यकामा ५ हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकता अनुसार खोप उपलब्ध गराउन आग्रह गरेको छ ।
'आजीवन राष्ट्रिय झण्डालाई पहिलो प्राथमिकतामा राखेर हिंडने खेलाडी, खेल प्राविधिक तथा समग्र खेलकर्मीहरुको जीवन रक्षाका खातिर यस महासंघले समन्वय तथा सहजीकरण गर्ने गरी परिचयपत्रको आधारमा काठमाडौं उपत्यकामा ५ हजार तथा प्रदेश र जिल्लामा समेत आवश्यकता अनुसार कोरोनाविरुद्ध दिईने भ्याक्सिन उपलब्ध गराईदिनुहुन विनम्रतापूर्वक आग्रह गर्दछु,' संघका अध्यक्ष रमेश पौडेलले पठाएको पत्रमा लेखिएको छ ।
महासंघले पछिल्ला दिनमा विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टको असरबाट नेपाल आक्रान्त बनेको भन्दै यसको असरबाट हुनसक्ने सम्भावित जोखिम र क्षतीलाई न्युनिकरण गर्नका लागि सहयोग पुर्याउने उद्देश्यले “नेकोसको आव्हानः कोभिड – नो भिड” भन्ने नाराका साथ राष्ट्रिय अभियानको सञ्चालन गरिरहेको समेत जनाएको छ ।
यस्तै महासंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १२ बुदे ज्ञापनपत्र समेत बुझाएको छ ।