काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले नयाँ कमिटि गठन गरेलगत्तै सक्रियता बढाएको छ ।
अघिल्लो महिना रमेश पौडेलको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको महासंघले कोभिड–१९ विरुद्धको अभियान सुरुवात गर्दै गतिविधिलाई तिव्रता दिएको छ ।
महासंघले विभिन्न पदाधिकारीको नेतृत्वका देशभर स्वास्थ्य सामाग्री वितरणको काम अघि बढाएको छ ।
महासंघले 'कोभिड नोभिड' नारा अन्तर्गत राजधानी काठमाडौं सहित देशभरका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
शुक्रबार मात्र राखेप बोर्ड सदस्य तथा महासंघका उपाध्यक्ष सुभाष श्रेष्ठ, महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेत र उप-महासचिव प्रदीप खत्री सहितको टोलीले उपत्यकाका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गर्यो ।
टोलीले कोभिड संक्रमणबाट बच्न स्यानिटाईजर, मास्क, ग्लोब्स लगायतका विभिन्न सामाग्री हस्तान्तरण गरेको हाे ।
महासंघले त्रिभुवन आर्मी क्लबमा रहेका खेलाडीलाई उपलब्ध गराएको सामाग्री ब्याडमिन्टनका पुर्व राष्ट्रिय च्याम्पियन सरादेवी तामाङलाई हस्तान्तर गरेकाे थियाे ।
महासंघले शुक्रबारनै सातदोबाटोस्थित ट्राफिक कार्यालय र बुढानिलकण्ठ वडा प्रहरी कार्यालयमा समेत स्वास्थ्य सामाग्री वितरण गरेकाे छ ।
स्वास्थ्य समाग्री प्राप्त गरेपछि सम्बन्धित संस्थाले महासंघप्रति हार्दिक आभार व्यक्त गरेको राखेप बोर्ड सदस्य सुभाष श्रेष्ठले जानकारी दिए ।
विहिबारमात्र महासचिव मेघराज पौडेल नेतृत्वको टोलीले भलिबल खेलाडीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे थियाे । महासंघका विभिन्न कमिटिमा रहेका पदाधिकारीले देशभर विभिन्न स्थानमा स्वास्थ्य सामाग्री सहयोग गरिरहेका छन् ।
महासंघले गत सातामात्र खेलकुदका सम्पुर्ण संरचनालाई क्वारेन्टाईन र आईसोलेसनको रुपमा प्रयोग गर्नका लागि युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई आग्रह गरेको थियो ।
महासंघका ईन्चार्ज समेत रहेका मन्त्री तामाङलाई ज्ञापन पत्र बुझाउँदै रमेश पौडेल नेतृत्वका टोलीले खेलाडीका लागि राहतको प्याकेज तत्काल घोषणा गर्न माग गरेकाे थियाे ।