काठमाडौं । एमाले नेता रमेश पौडेलले पार्टीको जनवर्गीय संगठन नेपाल खेलकुद महासंघ अध्यक्ष केपी ओलीविरुद्धको षड्यन्त्रमा प्रयोग भएको अरोप लगाएका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन सोमबार पत्रकार सम्मेलनमा नेता पौडेलले ओलीविरुद्धको षड्यन्त्रमा प्रयोग भएको संगठनलाई खेलाडी र खेलकुदको हकमा लगाउने बताए ।
पौडेललाई संयोजक ताक्दै एमालेको ओली पक्षले मंगलबार काठमाडौंमा खेलकुद महासंघको राष्ट्रिय भेला गर्दैछ ।
माधव नेपाल समुहले हप्ता दिन अघि मात्र काठमाडौंको कीर्तिपुरमा खेलकुद महासंघको राष्ट्रिय भेला आयोजना गरेको थियाे । भेलाले केन्द्रिय कमिटि विस्तारै गर्दै सातै प्रदेशकाे इन्चार्जकाे जिम्मेवारी तोकेको थियो ।
एमालेको नेपाल खेलकुद महासंघको अध्यक्षमा पुरुषोत्तम पौडेल छन् । उनी माधव–झलनाथ समुहका हुन् । खेलकुद महासंघमा माधव–झलनाथ पक्षकै नेताको बाहुल्यता छ ।
प्रधानमन्त्री ओलीले खेलकुदमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई क्रियाशिल बनाएर गतिविधि गर्दै आएका थिए । पछिल्लो समय खेलकुदमा सक्रिय देखिएका ओलीले युवा संघबाट बाहिरिएका नेतालाई अघि सारेर महासंघमा समानान्तर कमिटि गठनको तयारी गरेका हुन् ।
एमालेभित्रको पार्टी अन्तरविरोध बढ्दै जादा माधव–झलनाथ पक्षले समेत विभिन्न जनवर्गिय संगठनमा समानान्तर कमिटि गठन गरिरहेका छन् । खेलकुद महासंघमा कमजोर देखिएको ओली पक्षले युवा संघका पूर्व अध्यक्ष रमेश पौडेललाई अघि सार्दै राष्ट्रिय भेलाको आयोजना गरेको हो ।
'अध्यक्षलाई साक्षी राखेर कार्यक्रम गर्दैछौं । योनै आधिकारिक भेला हो । जसले बाटो बिराएर गए, उनीहरु समानान्तर कमिटि होला ।' पौडेलले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भने ।
‘पुरुषोत्तम पौडेल नेतृत्वको महासंघ ओलीविरुद्ध षड्यन्त्र गर्न प्रयोग भयो । अब खेलाडीलाई लागि महासंघलाई प्रयोग गर्नेछौं ।’ उनले भने, ‘संगठन कसरी बनाउने र कसरी चलाउने भनेर पनि हामी देखाउनेछौं ।’
पौडेलले महासंघबाट खेलकुदमात्र नभएर जनताको बहुदलिय जनवाद र एमालेलाई सहयोग गर्ने बताए ।
उनले महासंघका अध्यक्ष पुरुषोत्तम पौडेललाईनै मंगलबारको राष्ट्रिय भेलाको अध्यक्षता गरिदिन आग्रह गरे ।
‘तपाईहरु मुर्कुट्टो अभियानमा हुनुहुन्छ । टाउको बेगरको आन्दोलनमा हुनुहुन्छ । जुन बाटो मुल बाटो हैन । अस्तित्व नभएको बाटोमा पौडेल सहित केही साथी हिडिरहनु भएको छ ।’ पौडेलले भने ।
पत्रकार सम्मेलनमा महासंघका नेता मेघराज पौडेलले मंगलबारको राष्ट्रिय भेलाको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए ।
राष्ट्रिय भेलाका लागि ओली पक्षले प्रत्येक जिल्लाबाट ५ जना प्रतिनिधि काठमाडौं बोलाएको छ । बैठकले झण्डै ३० पदाधिकारी सहित २ सय बढीको कमिटि गठनको तयारी गरेको छ । ओली पक्षिय खेलकुद महासंघमा तत्कालिन नेपाल खेलकुद महासंघमा रहेका ओली पक्षिय नेता, राखेपका अधिकांश बोर्ड सदस्यहरु र जिल्लाका खेलकुदका नेतालाई समेट्ने तयारी गरिएको छ ।
अध्यक्षमा रमेश पौडेलको नाम पक्का भएपनि महासचिवमा मेघराज पौडेललाई अघि सार्ने सहमती छ । प्रधानमन्त्री ओलीले मंगलबारको राष्ट्रिय भेलालाई उद्घाटन गर्नेछन् ।
याे पनि, खेलकुद महासंघमा ओली पक्षको समानान्तर कमिटि बन्दै