काठमाडौं । सशत्र प्रहरी बलको एपीएफ क्लबले मुख्य प्रायोजकको रुपमा भारतीय अटोमोबाइल कम्पनी महिन्द्रासंग प्रायोजन सम्झौतामा नवीकरण गरेको छ ।
एपीएफले आइतबार नेपालका लागि महिन्द्राको आधिकारिक विक्रेता अग्नि ईन्कर्पोरेटेड प्रालिसंग थप पाँच वर्षको लागि सम्झौता नविकरण गरेको हो । सम्झौता पत्रमा एपीएफ क्लबका अध्यक्ष रामशरण पौडेल र अग्निका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
प्रायोजन सम्झौतासंगै महिन्द्राले एपीएफलाई पाँच वर्षका लागि २ करोड उपलब्ध गराउनेछ । एपीएफलाई महिन्द्राले वार्षिक ४० लाखको दरले रकम उपलब्ध गराउनेछ ।
सम्झौतासंगै एपीएफ क्लबको फुटबल र क्रिकेटको महिला पुरुष टोलीले महिन्द्राको लोगो अंकित जर्सी प्रयोग गर्नेछन् । यस्तै फुटबल टिमको नाम एपीएफ महिन्द्रा फुटबल टिम र क्रिकेटको नाम एपीएफ महिन्द्रा क्रिकेट टिम हुनेछ । एपीएफले असोज दोस्रो साताबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिग खेल्दैछ ।
महिन्द्राले एपीएफलाई बिस २०७१ सालबाट प्रायोजन गर्दै आएको छ । यसअघि महिन्द्राले एपीएफलाई वार्षिक २२ लाख १० हजारका दरले पाँच वर्षको लागि १ करोड ११ लाखको सम्झौता गरेको थियो ।